• Friday 16th of October 2026

यि रहेछन् मिनभवन क्याम्पसका प्राध्यापकको हत्याका योजनाकार सबिता,यसरी १६ वर्षपछि परे पक्राउ


  • धनकुटा खबर
  • .

मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका योजनाकारलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

ललितपुर साबिक इमाडोल गाविस बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो। घटना ललितपुर महानगरपालिका-२२ शंखमूलमा भएको थियो।

उनको हत्या गरेको आरोपमा प्रहरीले धादिङ गंगाजमूना गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता भन्ने सोभिता थापालाई पक्राउ गरेको हो।

कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

डिएसपी केसीका अनुसार धर्मराज विष्ट २०६४ असार २६ गते घाइते र बेहोस अवस्थामा फेला परेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

अनुसन्धानबाट धर्मराजमाथि कुटपिट गरी हत्या भएको खुलेको थियो।
धर्मराज र सबिताबीच सामान्य चिनजान थियो। तर धर्मराजले सबितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए।

उक्त कुरा सबिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए। दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिब पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन्।

उनका अनुसार योजना बनाएसँगै सबिताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन्।

त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए। धर्मराज आएपछि उनीमाथि रड र इटा ढुंगाले प्रहार गरेर भागेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका धर्मराजको उपचारको क्रममा मृत्यु भएको थियो।

बिनोद, रञ्जन र राजिब त्यही बेला पक्राउ परेका थिए। उनीहरूले सजाय काटेर छुटिसकेका छन्। तर योजनाकारको रूपमा रहेकी सबिता भने फरार थिइन्। उनलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।-सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖