• Tuesday 6th of October 2026

भेन्टिलेटरबाट निकालिए पनि होसमा छैनन् सुशान्त, अमेरिकाबाट आइपुगे माइला दाइ


  • धनकुटा खबर
  • .

काठमाडौं। कार दुर्घटनामा परी घाइते भएका ‘कमेडी च्याम्पियन सिजन २’का प्रतिस्पर्धी सुशान्त बस्याल अझै होसमा आउन सकेका छैनन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो जानकारी अनुसार बस्याललाई भेन्टिलेटरबाट बाहिर राखिएको भएता पनि उनको होस आउन नसकेको परिवार श्रोतले बतायो। “उसले अहिले सम्म मान्छे चिन्न सकेको छैन, टाउकोको दायाँ भागमा गहिरो चोट लागेको छ। अहिले आफै सास फेरेका छन्,” परिवारका एक सदस्य सूर्य बस्यालले बताए। सूर्यका अनुसार तत्कालै निको भइहाल्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्।

सुशान्तको सबै उपचार खर्च कार चालक कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले बेहोर्ने सहमतिपछि भण्डारीलाई हिरासतमुक्त गरिएको बस्यालले बताए। विशालले अस्पताल पुगेर सुशान्तको अवस्थाबारे जानकारी लिइरहेको बताइएको छ।

अहिले उनका परिवारका सदस्यहरू सबै काठमाडौं जम्मा हुन थालेका छन्। आइतबार उनका माइला दाजु अमेरिकाबाट काठमाडौं आइपुगेका छन्। क्यानडा बस्ने जेठो दाइ पनि काठमाडौं आउँदै छन्। सुशान्त चार भाइ मध्ये कान्छा हुन्। साइँला दाजु काठमाडौंमा नै बस्छन्।

बिहीबार बिहान करिब ३ बजे नगरकोटबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको जगातीमा सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग कार ठोकिएको थियो। बस्यालसँगै दुर्घटनामा परेका पवन भट्टराई, प्रकृति गिरी र रजनिस अर्यालको मध्यपुर ठिमी अस्पतालमा नै उपचार भइरहेको छ।

कार चालक विशाल भण्डारी र कारमा सवार पूजन अधिकारी सामान्य उपचारपछि प्रहरी हिरासतमा थिए। परिवारसँगको छलफलपछि सबैको उपचार भण्डारीले गर्ने सहमतिपछि हाजिरी जमानीमा हिरासतमुक्त भएका हुन्।-ठुलो पर्दा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖