• Saturday 17th of October 2026

दुई महिलाबीच प्रेमः अनैतिक सम्वन्ध भन्दै परिवारबाटै निर्घात कुटपिट


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रेम सम्वन्धमा रहेका कैलालीको मोहन्याल गाउँपालिकाका २ महिलालाई परिवारका सदस्य र गाउँले मिलेर निर्घात कुटपिट गरेका छन्। अनैतिक सम्वन्धमा रहेको आरोपमा मोहन्याल ७ स्थित सोल्टाघयनकुरकी राधिका विश्वकर्मा (नाम परिवर्तन) र अर्की महिलालाई कुटपिट गरिएको हो ।

ती महिलाले आफूलाई समलिंगी महिला बताउने गरेका छन्। ११ चैतमा सँगै बसेको आरोपमा विश्वकर्मा र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट गरिएको हो। उनीहरुलाई चरम यातना दिएको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएको छ।

त्यसपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएका अधिकारवादी संस्थाले घटनाको विरोध जनाउँदै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरू मिलेर निर्घात कुटपिट गरिनु कहाँसम्मको निरलज्जता र घृणित कार्य हो ? यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मात्र नभई, एक दलित र एक मानवमाथि क्रूर व्यवहार भएको हाम्रो ठहर छ।’

समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानबिन गर्न माग गरेको छ। साथै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानव अधिकार सेललाई घटनाबारे लिखित जानकारी गराएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।-शीर्ष खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖