• Tuesday 20th of October 2026

कांग्रेसबाट इलाम-२ मा कसले पाउला टिकट ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनमा पठाउने उम्मेदवारबारे छलफल अघि बढाएको छ। क्षेत्र, जिल्ला प्रदेश तीनै तहबाट उम्मेदवारको नाम सिफारिस भएर आइसकेपछि नेताहरूले गृहकार्य थालेको हो उम्मेदवार तोक्नुअघि रियल ग्राउण्ड बुझ्नका लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री आङ्दाम्बे खटिएका छन्। उनीहरू फर्किएर आएपछि मात्रै उम्मेदवार टुंग्याउने कांग्रेसको तयारी छ।

कार्यसम्पादन समितिको आकस्मिक बैठक बसाएर केही दिनमै टुंग्याउने तयारी भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

उनले भने, ‘अहिले सिफारिस भएर आएका नामहरूमा छलफल भइरहेको छ। केही दिनमा बैठक राखेर टुंग्याउँछौं।’

इलाम २ का लागि कांग्रेसबाट महासमिति सदस्य भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएर आएको छ।

त्यसमध्ये गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग पराजित भएका खड्काको सम्भावना बढी रहेको देउवा निकट एक नेताले बताए। यद्यपि, तीनै तहबाट कांग्रेसबाट महासमिति सदस्य आचार्यको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ।

ती नेताले भने, ‘उहाँले पहिला पनि झिनो मतले हार्नुभएको हो। त्यसैले उहाँलाई नै दिनुपर्छ भन्ने मत बलियो छ। कतिपयले नयाँलाई अवसर दिनुपर्छ भनिराख्नुभएको छ। तर, सभापतिले ९उहाँ० खड्कालाई नै अगाडि सार्नुहुन्छ भन्ने लाग्छ।’

अब पछिल्लो परिस्थितिको मूल्याङ्कनपछि उम्मेदवार चयनमा फरक पार्न सक्ने ती नेताको बुझाइ छ।गत निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत मात्रै ल्याएका थिए। यद्यपि, त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एस, जसपाले पनि साथ दिएको थियो।

सिफारिस भएर आएकामध्ये लोकप्रिय नेतालाई उम्मेदवार बनाउनुपर्ने नेता गुरुराज घिमिरे बताउँछन्।
उनी भन्छन्, ‘उम्मेदवारको विषयमा छलफल भइरहेको छ। प्रतिस्पर्धी साथीहरुबीच केन्द्रले मूल्याङ्कन गरेर टिकट दिनुपर्छ अहिले च्यालेन्ज पनि बढेको छ। तर, अवसर पनि हो। सत्तारुढ दलबाट एमाले र रास्वपाको उम्मेदवार आउने देखिएको छ।’

उनले सरकार रहेका दलहरूसँग सिंगल प्रतिस्पर्धा गर्नु कांग्रेसको परीक्षण पनि भएको बताए। उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेकपा माओवादी केन्द्रले पनि समर्थन गर्ने तयारी गरिरहेको छ।

रवि लामिछाने नेतृत्वको रास्वपाले पनि इलाम २ को भूगोललाई जित्न सक्ने उम्मेदवार खोजिरहेको छ। त्यहाँ रास्वपाले माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार मिलन लिम्बूलाई अघि सार्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖