• Tuesday 20th of October 2026

लगातार चार दिन प्रतिनिधिसभाको बैठक आह्वान, संसद्‌को अवरोध कायमै


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १८ । प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा नेपाली कांग्रेस गर्दै आएको अवरोध हटाउने विषयमा मुख्य राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि कुनै टुंगो लागेको छैन् । सिंहदरबारमा शनिबार बसेको बैठकले चैत १८ गतेदेखि २९ गतेसम्मको संसद बैठकको क्यालेन्डर भने तय गरेको छ। बैठकले आजदेखि लगातार चार दिन अर्थात् चैत २१ गतेसम्म प्रतिनिधिसभाको बैठक चलाउने क्यालेन्डर बनाइएको छ ।

यसबीचमा ६ दिन संसदीय समितिहरुको बैठकका लागि समय तालिका छुट्टाइएको छ भने चैत २७ देखि २९ गतेसम्म लगातर तीन दिन बैठक राख्ने क्यालेन्डर बनाइएको छ । बैठकले आजदेखि २९ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय निजामती, राजनीतिक दलसम्बन्धीलगायत विधेयक टेबल गर्ने सहमति गरेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। आजको बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖