• Wednesday 21st of October 2026

राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा भगवती न्यौपाने प्रस्तावक र गोपीबहादुर सार्की अछामी समर्थक रहेको उक्त प्रस्ताव बहुमतले पारित हुँदै उनी विजयी भएकी हुन् । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ मत र उनको विपक्षमा १६ मत परेको थियो ।

घिमिरेलाई नेकपा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाको समर्थन रहेको छ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

यसअघि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष निर्वाचित गरिअ‍ोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो ।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल,रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको थियो। सहमति अनुसार नै गत फागुन २९ भएको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाल अध्यक्षमा निर्वाचित भएका थिए।

५९ सदस्यीय रहेको राष्ट्रिय सभामा हाल माओवादी १८,कांग्रेस १६,एमाले १०,एकीकृत समाजवादी ८,जसपा ३,लोसपा १,राष्ट्रिय जनमोर्चा १ सदस्य छन्। यसैगरी राष्ट्रपतिबाट नारायणप्रसाद दाहाल र वामदेव गौतम मनोनित सदस्य हुन्। विमला राईको कार्यकाल सकिएपछि एकजना मनोनित हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖