• Wednesday 21st of October 2026

यसरी विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन्।

बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको कार्य सह्रानीय रहेको बताए।

आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गरे।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त भएका छन् भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लागेकी हुन्।

दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लागेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖