• Wednesday 21st of October 2026

कतारका मौसूफ आउँदा प्रचण्डले दिए देशभर सार्वजनिक विदा, राप्रपाले पनि खोज्यो भाग


  • धनकुटा खबर
  • .

काठमाडौं, १० वैशाख । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । सरकारले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम विन हमाद अलथानीको सम्मान स्वरुप देशभर सार्वजनिक विदा दिएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । त्यसको केही समयपछि गृह मन्त्रालयले सार्वजनिक विदा सम्बन्धि सूचना सार्वजनिक गरिसकेको छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०१/१० को बैठकबाट “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीज्यूले गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा संवत् २०८१ साल वैशाख ११ गते मङ्गलबारका दिन नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’– गृहले जारी गरेको सूचनामा भनिएको छ ।

कतारका राजा आउँदा विदा दिने निर्णयलगत्तै राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपालका राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

राजतन्त्रको घोर विरोधी नेताका रुपमा चिनिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरिरहेका बेलामा कतारका राजा आउँदा विदा दिनुलाई धेरैले विरोध जनाउन सुरु गरेका छन् । राजावादी दल राप्रपा र अन्य केही धार्मिक समुदायहरुले गणतन्त्रको विरोधमा आवाज उठाउँदै आएका छन् ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनार्थ १० वर्ष युद्ध लडेका प्रचण्डले नै शासन सत्ताको बागडोर सम्हालिरहेको बेला कतारका राजा नेपाल भ्रमणमा आउँदा देशभर सार्वजनिक विदा दिने निर्णयको विरोध सुरु भएको छ । धेरैले यसलाई सरकारको अस्वभाविक कदमको रुपमा लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖