काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी कमाण्डर बनाएर पठाएको छ सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई । एक सातादेखि उनी इलाममा खटिएर पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा भोट मागिरहेका छन् र भाषण गरिरहेका छन् ।
नेपाल प्रेससँग फोन सम्पर्क हुँदा शाही चुलाचुलीतर्फ जाँदै थिए । उनले आफ्नो पार्टीले यस पटकको चुनावमा नसोचेको भोट ल्याउने आँकलन सुनाए । उस्तै परे राप्रपाले चुनावै जित्न पनि सक्ने उनको महत्वाकांक्षी विश्लेषण छ । यद्यपि, अहिलेकै अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै रहेको उनले स्वीकार गरे ।
राप्रपाले अघिल्लो संसदीय चुनावमा मोटामोटी ५०० मात्र भोट ल्याएको थियो । त्यसैले यो उपचुनावमा पनि राप्रपा उम्मेदवारलाई गम्भीर प्रत्याशी ठानिएको छैन । तर, ज्ञानेन्द्र शाही खटिएपछि पार्टी पंक्तिमा केही न केही रक्तसञ्चार भएकै छ । अन्य पार्टीका मानिसहरु पनि उनलाई चाख मानेर सुनिरहेका छन् । आफूले पाइरहेको रेस्पोन्सबाट प्रफुल्ल देखिन्छन् शाही ।
‘इलाममा हाम्रो पार्टी शून्य बराबर थियो, तर अहिले हामीले निकै राम्रो माहोल बनाइसकेका छौं’, उनले भने, ‘पुराना कार्यकर्ताहरु संगठित भए । नयाँ मतदाताहरु उल्लेख्य संख्यामा राप्रपाको एजेन्डामा आकर्षित भइरहेको पाइयो ।’
राप्रपाले ७ देखि १० हजारको बीचमा भोट ल्याउने आँकलन शाहीले गरेका छन् । भोलि चुलाचुलीमा हुने दुइटा कार्यक्रम राम्रो भएको खण्डमा राप्रपाले जित्न पनि सक्ने दाबीसमेत उनले गर्न भ्याए ।
‘चुलाचुलीमा १३ हजार भोट छ । त्यहाँको १० देखि २० प्रतिशत भोटमात्रै तान्यौं भने पनि चुनाव हामीले जित्न सक्छौं’, उनले भने ।
रवि लामिछानेको रास्वपाको भने विजोक देखिएको शाही बताउँछन् ।
‘घन्टीको चर्चा त टेलिभिजन र सामाजिक सञ्जालमा मात्रै हो । यहाँ उनीहरुको विजोक देखियो । घरदैलोमा हिँड्ने कार्यकर्ता पनि काठमाडौंबाट ओसारिरहेका रहेछन् । यहाँ त उनीहरुको संगठन शून्य जस्तै रहेछ’, उनले भने ।
त्यसो त केही दिनदेखि रास्वपा र रवि लामिछानेको कटु आलोचक बनिरहेका छन् ज्ञानेन्द्र शाही । आफ्ना हरेक भाषण र अन्तर्वार्तामा उनी रास्वपामाथि खनिन्छन् । भोट माग्ने क्रममा पनि उनले ‘बरु मुढालाई दिनुस्, तर घन्टीलाई नदिनुस् भनेका थिए ।
तपाईं रास्वपाप्रति यति धेरै पूर्वाग्रही किन हुनुभयो भन्ने प्रश्नमा शाहीले जवाफ दिए, ‘म पूर्वाग्रही किन हुने ? भोलि चुनावको रिजल्टले देखाइहाल्छ नि ? कस्ता मतदाताले घन्टीलाई भोट हाल्छन् भन्नुस् त । पहिचानवादीले मुढामा हालिहाल्छन् । पहिचानविरोधीले कांग्रेस-एमालेलाई हाल्छन् । अब त बाहुन क्षेत्री कसैले पनि घन्टीलाई नहाल्ने भए ?’
