• Wednesday 21st of October 2026

कतारी राजाको भ्रमणमा गृहमन्त्री लामिछानेको द्वैध चरित्र


  • धनकुटा खबर
  • .

काठमाडौं। कतारी राजा शेख तमिम बिन हमाद अल थानीको आगमनको दिन सार्वजनिक विदा दिने घोषणा गरेका गृहमन्त्री रवि लामिछानेले घोषणाको भोलिपल्ट कतारी राजाको आगमनकै दिन बिहान आफ्नै निर्णयको विरोध गरेर द्वैध चरित्र देखाएका छन्।

लामिछानेले मंगलबार बिहान सामाजिक संजालमा लेखेका छन् ‘…अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती…लगायतका तमाम विषयमा पदबहाल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ । तर विधि नै नफेरिकन कुनै व्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सही हुन्न।’

उनले सामाजिक संनाल पोस्टमार्फत आज कतारी राजाको स्वागतमा दिइएको सार्वजनिक विदाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

उनले यसअघि पनि यसरी विदेशी सरकार प्रमुख वा राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक विदा दिइएकोमा असन्तुष्टि जनाएका थिए। उनले चीन र भारतका सरकार प्रमुख आउँदा विदा दिइएकोमा असन्तुष्टि जनाउँदै ‘बाउको मुख हेर्ने दिन घोषणा गरेनछन्’ भन्दै व्यङ्ग्य गरेका थिए।

तर, आजको सार्वजनिक विदामा लामिछानेकै प्रमुख हात छ। लामिछानेको आफ्नै नेतृत्वमा रहेको गृह मन्त्रालयले नै यसरी आकस्मिक सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।

गृह मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेपछि मात्रै मन्त्रिपरिषदले यसबारे निर्णय गर्छ। आजको सार्वजनिक विदाको निर्णय पनि सोमबार गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेपछि भएको थियो।

गृह मन्त्रालयमा विदाको प्रस्ताव तयार भएको र विभागीय मन्त्रीको हैसियतमा लामिछाने आफैंले त्यो प्रस्ताव मन्त्रिपरिषदमा लगेको भए पनि मंगलबार बिहानै सामाजिक संजालमा यसको विरोध गरेर लामिछानेले द्वैध चरित्र प्रदर्शन गरेको आरोप लागेको छ।

आफ्नै पहलमा विदाको निर्णय गराउने तर बाहिर जनताको सहानुभूति पाउन विरोध गरेजस्तो गरेको आरोप लामिछानेमाथि लागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖