• Friday 23rd of October 2026

बालमन्दिर जग्गा प्रकरण : मृत्यु भइसकेकालाई पनि पक्राउ पुर्जी !


  • धनकुटा खबर
  • .

२७ वैशाख, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अनियमित रुपमा लिजमा दिएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका २० जनामध्ये केहीको मृत्यु भइसकेको खुलेको छ ।

पक्राउ पूर्जी जारी भएकामध्ये वृहस्पति विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारीसहितका व्यक्तिहरु छन् । कांग्रेस नेता समेत रहेका तिवारीको १९ माघ २०७३ मा क्यान्सर रोगका कारण निधन भएको थियो ।

उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए । नेपाल बाल संगठनका कर्मचारीहरुका अनुसार, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको पनि निधन भइसकेको छ ।

संगठनले जग्गामा भएको ठगीबारे अनुसन्धान गरिदिन भन्दै बुधबार किटानी जाहेरी दिएपछि प्रहरीले २० जनालाई पक्राउ गर्न अनुमति लिएको छ । त्यसमा रीता सिंहसहितका व्यक्तिहरु छन् ।

ब्यूरोका एसपी होविन्द्र बोगटी भने तत्काल उपलब्ध कागजातहरुका आधारमा पक्राउ अनुमति लिइएको बताउँछन् ।

‘जाहेरीमा नाम उल्लेख भएजतिविरुद्ध पूर्जी ल्याएका छौं, उहाँहरु जीवित भए नभएको वा कहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने बल्ल अनुसन्धान अधिकृतले खोजी गर्ने हो’, उनले भने, ‘जाहेरी आउनुअघि नै उहाँहरुको अवस्था थाहा हुने कुरा पनि भएन ।’

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖