• Friday 23rd of October 2026

रविलाई गगन थापाको जवाफ- गृहमन्त्री भएपछि सबै तथ्य प्रमाण लुकाइसक्नुभयो


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख २९ ।नेपाली कांग्रेसका सांसद गगन थापाले आफू गृहमन्त्री लामिछानेको चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन्।

शुक्रबार संसद बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा कांग्रेस महामन्त्री समेत रहेका थापाले गृहमन्त्रीमाथि लागेको आरोप पुष्टि हुन्छ भन्नेबारे आफू विश्वस्त रहेको बताउँदै लामिछानेले दिएको चुनौति स्वीकार्न तयार रहेको बताएका हुन्।

शुक्रबार कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित भएपछि संसद भवनबाहिर पत्रकारहरूसँगकै कुराकानीमा गृहमन्त्री लामिछानेले आफूले ऋण माग्नका लागि निवेदन दिएको प्रमाणीत भए राजनीति छाड्ने बताएका थिए।

प्रमाणीत नभएको अवस्थामा गगन थापालाई राजनीति छाड्न चुनौति दिएका थिए।

‘यदि त्यो प्रमाण भए म राजनीति छोडिदिन्छु, यदि त्यो प्रमाणित गर्न सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ,’ गृहमन्त्री लामिछानेले भनेका थिए।

थापाले गृहमन्त्री लामिछानेको सोही चुनौति आफूलाई स्वीकार्य रहेको बताएका हुन्।

‘म त छोडिदिन्छु भनिसके त। उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस्। बागमतीमा नुहाउँछु भन्नुभयो, नुहाउनुस्। छोडदिनुस् भने छोडिदिन्छु। चुनौति त मैले स्वीकार गरिहालेँ,’ उनले भने।

उनको चुनौतिलाई आफूले मात्र नभई सिंगो नेपाली कांग्रेसले स्वीकार गरेको सांसद थापाले बताए।

‘त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पुर्‍याउला? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिंगो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन,’ उनले भने।

गृहमन्त्री भएपछि लामिछानेले सबै तथ्य प्रमाण लुकाइसकेको पनि थापाले बताए। त्यसकारण अब राजीनामा नचाहिने तर संसदीय छानबिन समिति बनाउनुपर्ने उनले बताए।

‘छानबिन गर्दा राजीनामा पनि चाहिँदैन। गृहमन्त्री भएर प्रमाण लुकाइसक्नु भयो। जे जति कुरा गर्नुपर्ने थियो उहाँले गरिसक्नुभएको छ। तथ्य, प्रमाण तोडमोड गरिसक्नु भयो,’ उनले भने, ‘तर त्यति तोडमोड गर्दै गर्दापनि यति तथ्य प्रमाणहरु छन् कि, जसको आधारमा हामी जे कुरा भनिरहेका छौँ, त्यसको पुष्टि हुन्छ भन्नेकुराको हामीलाई शतप्रतिशत विश्वास छ।’

त्यसकारणले गर्दा संसदीय छानविन समिति सरकारले नबनाइकन पेलपाल गरेर अब हामी नीति, कार्यक्रम ल्याउँछौं भन्ने कुरा नसोच्न पनि थापाले चेतावनी दिए।

‘अहिलेसम्म संसदभित्र छ, संसदभित्र मात्रै विषय सिमित रहँदैन। हामीले उठाएको विषयलाई सरकारले यसैगरी पेलेर लाने सोच बनायो भने संसदबाट सडकमा आउँछ। थप सरकारले त्यही ढंगको सामना गर्ने कुरामा तयार रहनुपर्छ,’ थापाले भने। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖