• Friday 23rd of October 2026

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपले विश्वकप खेल्ने सम्भावना जीवित छ


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेपाल दोस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा छँदा सामाजिक सञ्जाल भने सन्दीप लामिछानेमय बनेको छ । विचाराधीन मुद्दाका कारण सन्दीप विश्वकप खेल्ने टोलीमा अटाउन नसकेका कारण समर्थकहरुले चर्को आक्रोश र निराशा पोखिरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द भने सन्दीपले विश्वकप खेल्ने सम्भावना समाप्त भइनसकेको बताउँछन् । यदि अदालतले समयमै फैसला गरेर सफाइ दिएको खण्डमा सन्दीपलाई विश्वकपमा समेट्न सकिने उनको विश्वास छ ।

सन्दीपको निर्दोषिताप्रति पनि चन्द आश्वस्त देखिन्छन् । यद्यपि, अदालतमा विचाराधीन मुद्दामा आफूहरुले केही गर्न नसक्ने उनले बताए ।

‘अदालतले दूधको दूध पानीको पानी छुट्याएर चाँडो फैसला गरोस् भन्ने चाहन्छौं’, चन्दले भने, ‘छिटो फैसला होस् भनेर कामना गरेर बसिराख्या छौं ।’

चन्दले विश्वकपमा नेपालले दोस्रो चरणसम्मको यात्रा तय गर्ने आशा व्यक्त गरेका छन् । विश्वकपमा नेपालको सहभागिता र सन्दीप लामिछानेको मुद्दाको सेरोफेरोमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग गरिएको कुराकानीः

– दोस्रो पटक टी-२० विश्वकपमा सहभागी हुँदै गर्दा नेपालले के लक्ष्य लिएको छ ?
हाम्रो लक्ष्य विश्वकपको दोस्रो चरणमा पुग्ने हो । मैले टीम म्यानेजमेन्ट, प्रशिक्षक र खेलाडीहरुसँग कुरा गर्दा, अनि नेपालले पछिल्लो समयमा जुन स्तरको प्रदर्शन गर्दै आएको छ, त्यसलाई हेर्दाखेरि यो सम्भव छ जस्तो लाग्छ ।

– तर, चार वटै प्रतिस्पर्धी नेपालभन्दा बलिया छन् । समूह चरणको खड्को पार गर्न सहज होला र ?
विश्वकप हाम्रो ‘पुल’ त्यति कठिन छैन । नेदरल्यान्ड्ससँग हामीले खेलिराखेकै हो । हाम्रै स्तरको टीम हो र हामीले धेरै पटक हराएका पनि छौं । बाँकी तीन वटा टीमसँग पनि सुरुमै हात उठाउनुपर्ने अवस्था छैन । दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशमध्ये एउटा टीमविरुद्ध उलटफेर नतिजा निकाल्न सक्छौं । दुइटा जीत हासिल गर्‍यौं भने पनि दोस्रो चरणको ढोका खुल्नसक्छ । हामी अनुभव लिन वा सिक्नलाई मात्रै गएका होइनौं, आफूलाई प्रमाणित गर्न गएका हौं ।

– क्यानले विश्वकप सुरु हुनुभन्दा करिब एक महिना अगाडि नै टोली अमेरिका पठाएको छ । यसको उद्देश्य के हो ?
हामीले विश्वकपको आयोजना सुरु हुनुभन्दा १८-१९ दिन अगाडि पठाएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको त्यहाँको कन्डिसनसँग खेलाडीहरु अभ्यस्त हुन सकून् भन्ने हो । एकैचोटि गएर प्रतिकूल कन्डिसनमा खेल्न गाह्रो हुन्छ । हामीले अमेरिकामा लिग- २ खेल्दा पनि तीन हप्ता अगाडि नै पठाएका थियौं ।

– नेपालले पहिले नै टीम पठाउँदा त्यहाँ हुने खर्चको दायित्व कसले बोक्छ ?
अहिले त क्यानकै खर्च हुने हो । २४-२५ तारिखदेखिको खर्च आईसीसीले व्यहोर्छ । त्योभन्दा अगाडि ४ देखि २३ तारिखसम्म हामी आफैंले गर्नुपर्छ । नेपालबाट अमेरिका जाँदाको एयर फेयर चाहिँ आईसीसीले व्यहोर्छ । पहिले लिग- २ को बेला पनि तीन हप्ता अगाडि नै पठाएका थियौं । हालाकि त्यो बेलामा अमेरिका निवासी नेपाली सोसाइटी, पूर्वक्रिकेटर र क्रिकेट लभरहरुले सबै म्यानेज गरेका थिए ।

– अमेरिकामा गएर पनि खेलाडीले प्राक्टिस म्याच खेल्न पाएका छैनन्, चाँडै पठाएको के अर्थ भयो र ?
फ्लोरिडामा प्राक्टिस म्याचका लागि हामीले प्रयास गरेका हौं, तर सम्भव भएन । त्यहाँ ४-५ दिन राखेर ड्यालासमा लगिएको छ । नेपालले २६ र २८ तारिखमा दुइटा वार्मअप म्याच अमेरिका र क्यानाडासँग ड्यालासमै खेल्छ ।

वेस्ट इन्डिजमा चाहिँ नेपालको दुइटै म्याच एउटै ग्राउन्डमा छ । ६-७ दिन खेलाडीले त्यहाँ प्राक्टिस गर्छन् । प्रोभेन्स लेभलको टीमसँग दुइटा अभ्यास म्याच खेल्ने कुरा भइसक्या छ । हामीसँग अहिले वेस्ट इन्डिजको बलिङ कोच हुनुहुन्छ । उहाँले त्यहाँको सबै कन्डिसन बुझ्नुभएको छ । विश्वकपलाई नै लक्षित गरेर उहाँलाई हायर गरिएको हो । हाम्रा खेलाडीहरु वेस्ट इन्डिजमा पहिलो पटक खेल्दैछन् । त्यसैले उहाँको अनुभव धेरै काम लाग्छ ।

– नेपालले किन टेस्ट राष्ट्रसँग वार्म अप म्याच पाउन सकेन ? क्यानको लविङ नपुगेको हो कि आईसीसीले हामीलाई हेपेको हो ?
क्यानको प्रयासले मात्र नहुँदो रहेछ । टीमहरुको ट्राभलिङको कुरा आउँछ । यूएसए र क्यानाडाको सबै म्याच अमेरिकामा नै छ । त्यसैले उनीहरुसँग मिलाइएको होला । एउटै पुलका टीमहरुसँग राख्न मिल्दैन । नत्र भने श्रीलंका र बंगलादेशका म्याचहरु पनि यूएसएमै छन् । त्यहाँ उपलब्ध भएकामध्येबाट राखेको होला ।

– अमेरिका र वेस्ट इन्डिजको पिचबारे के कति जानकारी पाउनुभएको छ ? नेपालका लागि कत्तिको चुनौतीपूर्ण होला ?
त्यो त उतै सोध्नुपर्छ । कन्डिसन अलिकति च्यालेन्जिङ नै छ भन्ने सुनिरहेको छु । वेस्ट इन्डिजको चाहिँ जानकारी भएन । तर, हामीसँग वेस्ट इन्डिजको बलिङ कोच हुनुहुन्छ । उहाँको अनुभव र ज्ञान पक्कै काम लाग्छ ।

– विश्वकपमा खेल्ने नेपाली टीमको सबैभन्दा सबल पक्ष के हो जस्तो लाग्छ ?
अहिले त ब्याटिङ नै हो । हामीसँग धेरै म्याच विनरहरु छन् । ब्याटिङ लाइनअप लामो पनि छ । फिल्डिङ पनि हाम्रो बलियो पक्ष हो ।

– बलिङ चाहिँ कमजोर हो ?
हाम्रो स्पिन बलिङ त राम्रै छ । सन्दीप चाहिँ छैनन् । अरु स्पिनरले सन्दीपको अभाव महसुस हुन दिने छैनन् भन्ने कामना गरेका छौं ।

– सन्दीप नहुँदा टीममा मनोवैज्ञानिक प्रभाव परेको होला नि ?
हाम्रो टीममा भन्दा विपक्षी टीमलाई चाहिँ मनोवैज्ञानिक फाइदा मिल्नसक्छ । सन्दीप हुँदाखेरि अरु टीमहरु अलिकति डराउँछन् । त्यसको फाइदा नेपाली टीमलाई हुन्थ्यो । सन्दीप छैनन् भने चाहिँ ढुक्क भएर खेल्न सक्ने स्थिति हुन्छ ।

– सन्दीपलाई विश्वकपमा लैजाने सम्भावना बाँकी छ कि छैन ?
उच्च अदालतबाट ‘क्लीन चिट’ आइसकेपछि सम्भावनाको ढोका खुल्छ । फैसला नहुञ्जेलसम्म क्यानले केही गर्नसक्ने अवस्था छैन । अदालतको फैसला आएपछि चाहिँ सम्भावना जीवित छ । त्यसका लागि अलिकति समय पनि छ ।

– भन्नाले चाँडै सफाइ पाएमा सन्दीपलाई टीममा समावेश गर्न सकिन्छ ?
हो । सफाइ पाए भने प्राविधिक रुपमा सम्भावना जीवित छ, तर फैसला समयमा हुनुपर्‍यो । अन्यथा हामीले केही गर्नसक्ने अवस्था हुँदैन । हामी छिटो फैसला होस् भनेर कामना गरेर बसेका छौं ।

– आईसीसीले सन्दीपलाई खेलाउन मान्छ त ?
अहिले टीममा भएका १५ जनामध्ये कोही घाइते भयो भने हामीले रिप्लेस गर्न सक्छौं । त्यसका लागि एउटा समयसीमा हुन्छ । आईसीसीको टेक्निकल कमिटीेको अनुमतिमा गर्न पाइन्छ । सन्दीपको पक्षमा निर्णय भयो भने भिसाको समस्या हुँदैन, तत्कालै लैजान सकिन्छ ।

– सन्दीपले सफाइ पाउलान् भन्नेमा व्यक्तिगत रुपमा कति आशावादी हुनुहुन्छ ?
म त सधैं आशावादी हो ! पहिलेदेखि नै मभन्दा अरु कोही थियो र आशावादी ? नेपाली क्रिकेटमा सन्दीपको योगदान र आवश्यकता मैले राम्ररी बुझेको छु ।

– कतिले सन्दीपको पक्षमा क्यान किन नबोलेको भनेर पनि गुनासो गरिरहेका छन्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुको बुझाइको आधारमा भन्नुभएको होला । सिंगो क्यान सन्दीपको पक्षमा छ । विश्वकपमा उनी नछुटून् भनेर कामना गर्दैछौं । क्यान अध्यक्षकै सरह जो जो जुन जुन निकायमा हुनुहुन्छ, सबैले गम्भीर भएर सोचिदिनु भयो भने कुनै समस्या नै थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖