३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई छोरीपछि आमाको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या तीन पुगेको हो।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो ।
भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । पछिल्लोपटक सञ्जयकी श्रीमती ३२ वर्षीया रुपा गिरीको पनि उपचारको क्रममा आज बिहानपख मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार जारी छ ।
