काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई धम्की दिएका छन् । पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा धम्कीयुक्त भाषामा ‘रिप्लाइ’ गरेका हुन् ।
पत्रकार बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।
त्यही पोस्टमा मंगलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’
सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको बताएका छन् ।
