• Sunday 25th of October 2026

डेढ वर्षको अवधिमा आज पाँचौँ पटक विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २३ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिने तयारीमा छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए।

त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उनले ६९ मत प्राप्त गरेका थिए। प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा)नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो ।

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए। त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए । चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन ।

यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गरे भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाएनन्। यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्रीमा बेची लुङ्गेली रहेका थिए। लुङ्गेलीले जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए।

त्यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य पर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖