• Sunday 25th of October 2026

पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य आकासियो, एउटा सिलिन्डरको ७ हजार रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौँ। इरानबाट आपूर्ति बन्द भएपछि पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्य अचाक्ली बढेको छ । १२ किलोको एउटा सिलिन्डरको मूल्य केही दिनमै ४ हजार ५०० पाकिस्तानी रुपैयाँबाट बढेर ७ हजार रुपैयाँ पुगेको छ।

रोयटर्सका अनुसार पाकिस्तान र इरानबिचका दुई प्रमुख सीमा नाका अक्टोबर १७ देखि बन्द छन् । पाकिस्तानले सुरक्षा चिन्ता र तस्करी नियन्त्रणका लागि सीमा बन्द गरेको जनाएको छ भने इरानले प्राविधिक कारण देखाएको छ।

पाकिस्तानले आफ्नो कुल एलपीजी आवश्यकताको करिब ५० प्रतिशत इरानबाट आयात गर्दै आएको छ । देशको कुल आवश्यकताको करिब ७० प्रतिशत ग्यास विदेशबाट आयात हुने भएकाले आपूर्ति अवरुद्ध हुँदा बजारमा अभाव र मूल्यवृद्धि भएको हो। हर्मुज जलडमरुमा इरान युद्धका कारण उत्पन्न अवरोधले इराक र ओमानबाट हुने आयातसमेत प्रभावित भएको छ।

पाकिस्तानको तेल तथा ग्यास नियामक प्राधिकरणले ११.८ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ३ हजार २९६ पाकिस्तानी रुपैयाँ तोकेको छ । तर, बजारमा निर्धारित मूल्यभन्दा निकै महँगोमा सिलिन्डर बिक्री भइरहेको छ। एलपीजी एसोसिएसनका अध्यक्ष इरफान खोखरका अनुसार बलुचिस्तानमा १२ किलोको सिलिन्डर ७ हजार, लाहोरमा ७ हजार ५०० र स्कर्दुमा ८ हजार २०० पाकिस्तानी रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

पाकिस्तानका पेट्रोलियममन्त्री अली परवेज मलिकले सरकारले आफैँ एलपीजी आयात गरेर बजारमा उपलब्ध गराउने बताएका छन् । उनले आगामी दुईदेखि तीन दिनभित्र मूल्यमा सुधार आउन थाल्ने अपेक्षा व्यक्त गरेका छन्। प्रतिकिलो ग्यासको मूल्य ४०० देखि ४२५ पाकिस्तानी रुपैयाँको बीचमा हुनुपर्ने बताउँदै उनले बढी मूल्य लिने व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

सीमा बन्द हुँदा एलपीजी ट्यांकरसहित सयौँ ट्रक पाकिस्तान र इरानको सीमाका दुवैतर्फ रोकिएका छन्। पाकिस्तानबाट इरान पठाउन लागिएका आलु, केरा र चामल बोकेका एक हजारभन्दा बढी कन्टेनरसमेत सीमामा रोकिएको समाचारमा उल्लेख छ । यसले ग्यास आपूर्तिसँगै अन्य व्यापारमा समेत असर पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖