• Sunday 25th of October 2026

सहकारीको समाचार लुकाइदिन, मिलाइदिन रवि लामिछानेले धेरै पटक आग्रह गरे: सम्भव सिरोहिया


  • धनकुटा खबर
  • .

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्।

‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो।

व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नबुझ्नु भएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो,’ उनले भिडियोमार्फत् भनेका छन्।

उनले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताएका छन्।

९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको उनले बताएका छन्। पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको जिकिर छ।

‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो। भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामन्य कुरालाई के-के न जस्तो हल्ला गरियो,’ उनले भनेका छन्।

नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ परेका थिए।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो।-सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖