• Wednesday 21st of October 2026

पानी ट्यांकर ब्याक गर्दा मृत्यु भएका ईञ्जिनियरका परिवारलाई २५ लाख


  • धनकुटा खबर
  • .

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्यांकरद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गर्न सहमति भएको छ ।

व्यास नगरपालिका १२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई २५ लाख रुपैयाँ राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थिए । घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको सो ट्यांकरले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्यांकर र सोही दिशातर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो २ बजे ठक्कर दिँदा इन्जिनियर कैनीको मृत्यु भएको हो । ट्यांकरले ब्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

दुर्घटना भएको दिनदेखि पीडित परिवार आन्दोलित थिए । जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहीबार बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एकजनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।

व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार पनि धर्ना दिने तथा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖