काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रिती राई नगदसहित सम्मानित भएकी छन् ।
आज किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनलाई नगदसहित सम्मान गरिएको हो । किराँत राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्क राज राई, निवर्तमान नगर प्रमुख तिलक राईलगायतले दोसल्ला ओढाएर एक लाख आठ हजारसहित सम्मानपत्रले उनलाई सम्मान गरेका छन् ।
यसैगरी, खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरु राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई किरात राई यायोक्खा सुनसरिले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
यसैवीच, नगर प्रमुख हर्कले प्रिती राई नेपालको राष्ट्रिय महिला फुटबलकी प्रभावशाली खेलाडी भएको बताएका छन् । अझै धेरै नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना दिदैँ उनले खेलाडिहरुलाई हौसला प्रदान गर्न सरकारले व्यवस्थित गर्न जरुरी रहेको बताए ।
