• Sunday 25th of October 2026

माधव नेपालका भान्जाले गरे युवा संघ विभाजन, विकले गरे कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल विभाजन भएको छ । शनिवार काठमाडौँमा भेला गरी पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा नितेश पौडेलले समानान्तर कमिटी गठनको घोषणा गरेपछि युवा सङ्घ विभाजन भएको हो ।

अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ । युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो ।

२०८० फागुनभित्र महाधिवेशन गर्ने म्यान्डेट विश्वकर्माको कमिटीलाई पार्टीले दिएको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नगरेर कार्यकाल लम्ब्याएको भन्दै शनिवार सहसंयोजक पौडेल समूहले आफ्नै संयोजकत्वमा फुर्वा लामा सहसंयोजक रहेको समानान्तर कमिटी घोषणा गरेको हो ।

समानान्तर कमिटी गठन गर्ने पौडेलसहितका नेताहरूलाई विश्वकर्मा नेतृत्वको समितिले जेठ २७ गते आइतबार कारबाही गरेको घोषणा गरेको छ । संयोजक कृष्णकुमार विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई सङ्गठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम सङ्गठनको सबै जिम्मेवारीबाट निष्कासन गरेको उल्लेख छ ।

यता पार्टी अध्यक्षकै भान्जाको अगुवाइमा समानान्तर कमिटी बनाएपछि नेकपा एकीकृत समाजवादीका नेताहरू नै आश्चर्यमा परेका छन् । नेकपा एकीकृत समाजवादीका एक नेता भन्छन्– ‘युवा सङ्घभित्रको विवादमा भान्जाको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिनुले यसलाई पार्टी अध्यक्षकै संरक्षण रहेको छैन भनेर कसरी विश्वास गर्ने ? पार्टी अध्यक्षले दुवै पक्षलाई राखेर मिलाउनुपर्नेमा भान्जालाई समानान्तर कमिटी घोषणा गर्न लगाएर तमासा देखाए ।’

समानान्तर कमिटी घोषणा गर्ने पक्षले भने विश्वकर्माले समयमा महाधिवेशन नगरेका कारण समानान्तर कमिटी घोषणा गर्नुपरेको दाबी गरेका छन् । पौडेल पक्षीय नेता फुर्वा लामाले विश्वकर्माले समयमै महाधिवेशन सम्पन्न गर्न असफल भएपछि बहुमत केन्द्रीय सदस्यको भेलाले नयाँ नेतृत्व चयन गरेको दावी गरे । रातोपाटीसँगको कुराकानीमा लामाले भने, ‘भेलाले गरेको निर्णयअनुसार अब युवा संघको वैधानिक संयोजक नितेश पौडेलको हो ।’

उनले पौडेल संयोजक रहेको युवासंघले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको पनि बताए । ‘कृष्ण विकलाई गत फागुन मसान्तभित्र महाधिवेशन गर्ने म्यान्डेट थियो र सोहीअनुसार उहाँलाई संयोजक बनाइएको हो । तर त्यो समय सकेर आज जेठ पनि सकिन लाग्दा पनि महाधिवेशन नभएकाले विक नेतृत्वको वैधानिकता सकिएकाले हामीले नयाँ कमिटी गठन गरेका हौ’, पौडेल पक्षीय समूहका सहसंयोजक लामाको भनाई छ ।

तर संस्थापन पक्षीय विक समूहका सहसंयोजक सञ्जीव राईले संयोजक विकले पौडेल समूहलाई छलफलका लागि पटक–पटक बोलाउँदा नआउने गरेको भन्दै ६ महिनाको म्याद सकियो भन्दैमा एकजना व्यक्ति आफैँले आफैँलाई संयोजक घोषणा गर्न नमिल्ने दाबी गर्छन् ।

‘समस्या समाधान गर्न सङ्गठनले पटक पटक बैठक बोलाउँदा पौडेलजीहरू अनुपस्थित हुनुभयो । पार्टीले पनि यो बिचमा समस्या समाधान गर्न कुनै चासो देखाएन जसले गर्दा समस्या पालेर बस्ने काम भयो’, राईले भने, ‘म्याद सकियो भन्दैमा आफैँले आफैँलाई संयोजक घोषणा गर्न मिल्दैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖