• Monday 26th of October 2026

एमाले काठमाडौंको पदाधिकारीमा मेरो कुनै दाबी छैन्: सुनिता डंगोल


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमाले काठमाडौंको जारी जिल्ला अधिवेशनमा आफ्नो कुनै पनि पदमा चाहना नरहेको प्रष्ट पारेकी छन् ।

शनिबारदेखि जारी एमालेको काठमाडौं जिल्ला अधिवेशनमा सुनितालाई सर्वसम्मतरुपमा उपसचिव बनाउने तयारी भएको समाचार प्रकाशित भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफू पार्टीको विभिन्न जिम्मेवारीमा रहेको कारण थप जिम्मेवारी लिने पक्षमा नरहेको बताएकी छन् । उनले एउटै व्यक्ति विभिन्न पदको भारीले थिचिन नहुने बताएकाी छन् ।

डंगोलको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनको अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्र सँगै नयाँ नेतृत्व छनोटको समेत प्रक्रिया चलिरहेका बेला विभिन्न सञ्चार माध्यमहरूले काठमाडौं जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि मेरो पनि दाबी रहेको भन्दै समाचार प्रकाश तथा प्रसारण गरेको जानकारी प्राप्त भयो । एउटै व्यक्तिले विभिन्न जिम्मेवारी लिने वा पदीय जिम्मेवारीले थिच्दै जाने हो भने कुशल ढंगले काम गर्न असहज हुने निश्चित नै छ । एक व्यक्ति धेरै पदीय जिम्मेवारी भयो भने विभिन्न जिम्मेवारी लिने योग्य व्यक्तिहरूलाई पनि अवसरका ढोकाहरू बन्द हुने हुँदा धेरै पदीय जिम्मेवारी नलिई अहिले जनप्रतिनिधिको हैसियतले जनताको सेवक भएर काम गर्ने मेरो चाहना छ ।’

जिल्ला अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । एमाले काठमाडौंको अध्यक्षका लागि दीपक निरौला र निर्मल देउला भिड्ने तयारी गरेका छन् । उनीहरु दुवैले सुनितालाई उपसचिव बनाउन चाहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖