जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव पतिसँग झगडा भएपछि बेपत्ता भएकी छिन् । ६ दिनदेखि उनी सम्पर्कविहीन छिन् ।
रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
रुवीको श्रीमान् राजु केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर विवाद हुँदै आएको थियो ।
सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपिट गरेपछि रुवी प्रहरी कार्यालयसम्म गएकी थिइन् ।
रुवी बेपत्ता भएको निवेदन आएपछि उनको घर र अन्य सम्भावित स्थानमा खोजतलास गरिरहेको प्रहरी निरीक्षक सोनु साहले बताए ।
