रियाद। साउदी अरबको पूर्वी क्षेत्रस्थित दम्माममा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणले सो घटनाको पुष्टि गरेको हो।
प्राधिकरणका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। आक्रमणबाट विमानस्थलमा पुगेको भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।
यो आक्रमण कसरी गराइयो भन्नेबारे स्पष्ट भइनसके पनि पछिल्ला दिनहरूमा यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदीका विभिन्न विमानस्थलहरूलाई लक्ष्य गरी बारम्बार क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आएका छन्। यस क्षेत्रमा चुलिँदो तनावका बीच भएका यस्ता आक्रमणबाट साउदी अरबका धेरै विमानस्थलहरू प्रभावित भएका छन्।
अमेरिकाद्वारा कूटनीतिक कर्मचारी फिर्ता
यसैबीच, यमनका हुथी विद्रोहीहरूले साउदी अरबमाथि घातक आक्रमण तीव्र पारेपछि अमेरिकी विदेश मन्त्रालयले बुधबार साउदीमा रहेका आफ्ना गैर-अत्यावश्यक दूतावास कर्मचारी र तिनका परिवारलाई देश छाड्न आदेश दिएको छ। कूटनीतिक स्रोतहरूका अनुसार खाडी मुलुकमा बढ्दो सुरक्षा जोखिमका कारण अमेरिकाले आफ्ना नागरिक तथा कर्मचारीहरूको सुरक्षाका लागि यो कदम चालेको हो।
अर्कोतर्फ, साउदी अरबको प्रमुख तेल उत्पादन केन्द्र मानिने शैबा तेल खानीमा भएको हमलामा परी एक जना भारतीय नागरिक घाइते भएका छन्। साउदीस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत उक्त घटनाको पुष्टि गर्दै घाइते भारतीयको उपचार र सुरक्षाका लागि साउदी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइने जनाएको छ।
साउदी गठबन्धन सेना र कूटनीतिक स्रोतहरूका अनुसार हुथी विद्रोहीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमणहरू गर्दै आएका छन्।
भर्खरै (अक्टोबर २० मा) पनि साउदी सेनाले रियादमाथि प्रहार गरिएको हुथी मिसाइललाई हावामै विफल पारेको थियो, जसका कारण रियाद शहरमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए।
यसअघि अक्टोबर महिनाको सुरुदेखि नै हुथीहरूले रियाद विमानस्थललाई लक्षित गरी दर्जनौँ पटक आक्रमणका प्रयासहरू गरिसकेका छन्।
