वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या अघि उनले मृत्युकालीन घोषणा गरेको भिडियो क्लिप प्रहरीले हात पारेको छ ।
आफूलाई गोली प्रहार भएपछि घाइते अवस्थामा उनले आफूमाथिको घटनाको बारेमा सर्वसाधारण मार्फत भिडियो रेकर्ड गराएको भेटिएपछि प्रहरीलाई अनुसन्धानको नजिक पुग्न सहज भएको छ ।
व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको उक्त भिडिओ क्लिपबाट खुलासा भएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाले आफूलाई मार्ने व्यक्तिको बारेमा भिडियोमा बोलेका छन् ।
डाईङ डिक्लेरेशन अर्थात मृत्युकालीन घोषणामा उनले गाउँकै सुरेन्द्र कुशवाहाले गोली हानेको बताएका छन् । गोली लाग्दाको बखत भएको भिडिओ रेकर्डबारे जानकारी पाइसकेको प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् ।
बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गरे ।
त्यो भिडियोमा मृतक कुशवाहाले गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली चलाएको प्रष्ट रुपमा बोलेका छन् ।’ अरू विभिन्न पाटोबाट अनुसन्धान गर्दा पनि मृत्युकालीन घोषणामा नाम लिएका व्यक्ति आपराधिक पृष्ठभूमिकै रहेको पाइएको छ ।
आरोपित कुशवाहा भूपू आर्मीको जवान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
