• Thursday 22nd of October 2026

गर्मीले बाँकेमा दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

सिराज खान/नेपालगन्ज, असार २ गते। पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ।

उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो।

खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आउनुभएका सुनार शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस हुनुभएको थियो।

खजुराको धनौलीमा बेहोस हुनुभएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो।

यसैगरी नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आउनुभएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले जानकारी दिनुभयो।

गिरीलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालले बताउनुभयो। नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेको जानकारी उहाँले गराउनुभयो।

पछिल्लो केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। बाँकेको तापमान ४४ डिग्रीभन्दा माथि पुगेपछि गर्मीका कारण सयौं मानिस बिरामी परेका छन्।

अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन्।

अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन्।-गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖