काठमाडौं उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्।
नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
उनका अनुसार चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाएका छैनन्। त्यस कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।
‘ट्यांकर चालकहरूले शनिबार कालोपट्टि बाँधेर विरोध जनाएका थिए। उनीहरूले विभिन्न माग राखेका छन्। शनिबार र आज (आइतबार) पनि ट्यांकर चलाएनन्,’ ठाकुरले भने, ‘आज पनि छलफल भयो। भोलि मन्त्रालयमा छलफल छ। टुंगो लगाँउछौं।’
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको हो।
संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।
आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
ट्यांकर चालक मजदुरहरूको समस्या समाधान निम्ति विभिन्न निकायमा भन्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा ओर्लिएको उनीहरूको भनाइ छ।
‘माग सम्बोधन नभए नेपालभरका सबै ट्यांकर चालक मजदुरहरू बाध्य भई आफ्नो कामकारबाही छाडेर आन्दोलन गर्न बाध्य हुनेछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
