• Thursday 22nd of October 2026

यी हुन् बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालक


  • धनकुटा खबर
  • .

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन्।

गोर्खा सिरानचोक गाउँपालिका वडा-११ का ४१ वर्षीय कल्भिन जेम्स भन्ने रेशम गुरूङ र मकवानपुर बागमती गाउँपालिका वडा-९ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीया मखमलीमाया स्याङतान पक्राउ परेका हुन्।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-२६ स्थित ठमेलमा ए वान स्पा सेन्टरमा बालिकालाई डरत्रास देखाएर यौन व्यवसायमा लगाउने गोप्य सूचना मिलेको थियो।

सोही सूचनाको आधारमा दुई जना बालिकालाई स्पा सेन्टरबाट उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

ती बालिकाहरूलाई २०८० कात्तिकदेखि स्पा सेन्टरमा राखेर यौन व्यवसायमा लगाएको उनीहरूले बताएका छन्।

सञ्चालक गुरूङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ब्युटीपार्लरमा काम लगाइदिने भन्दै यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘उनले सामाजिक सञ्जालमा कुराकानी गरी प्रलोभनमा पारेर काठमाडौं बोलाउने गरेको देखिन्छ,’ एसपी मिश्रले भने, ‘काठमाडौं आउने भाडासमेत उनले पठाउने गरेको अनुसन्धानमा खुलेको छ।’

बालिकाहरू काठमाडौं ल्याएपछि टोखा नगरपालिका वडा-११ मा सञ्चालन भएको सनफ्लावर स्पा सेन्टरमा राख्ने गरेका रहेछन्। त्यहाँ उनीहरूलाई मासिक दश हजार दिने भनेर राख्ने रहेछन्।

उनीहरूलाई केहीदिन राखेपछि सुरूआती दिनमा आफैंले पटक पटक बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘आफूले जबरजस्ती गरेपछि मसाज गर्न आएका व्यक्तिहरूसँग २ देखि ३ हजार रूपैयाँ लिएर बालिकालाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गरेको बालिकाहरूले बताएका छन्,’ उनले भने, ‘ग्राहकको आवश्यकता अनुसार उनीहरूलाई विभिन्न होटल तथा गेष्ट हाउसमा समेत पठाउने गरेको अनुसन्धानमा खुलेको छ।’

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖