• Thursday 22nd of October 2026

भोलि यी स्थानमा भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका केही स्थानमा आइतबार (भोलि) भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती तीनका केही र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुन प्रणालीका कारण वर्षाको सम्भावना रहेको उनले बताए ।

कुनै एक स्थानमा १२ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिने उनले स्पष्ट पारे । १२ घण्टामा १० मिलिमिटरसम्मको पानी हल्का वर्षा हो ।

काठमाडौं आइतबार (भोलि) मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा आइतबार पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको उनले जानकारी दिए ।

“काठमाडौंमा आंशिक बदलीको सम्भावना छ । थोरैथोरै घाम, थोरैथोरै पानी पर्ने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “अपराह्नतिर वर्षाको सम्भावना अलि बढी छ । मध्यमसम्म वर्षाको सम्भावना छ ।”

१२ घण्टामा १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ । “कुनै ठाउँमा एक घण्टामै ४० मिलिमिटर पानी पर्‍यो भने त्यो तत्कालका लागि धेरै होला, तर १२ घण्टालाई आधार मानेर हेर्दा त्यो मध्यम वर्षा हो,” मौसमविद् अधिकारीले भने ।

१२ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मको पानीलाई धेरै भारी वर्षा भनिने उनले बताए । “१२ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्‍यो भने अति भारी वर्षा भन्ने गरेका छौँ,” उनले भने ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हाल मनसुन सक्रिय छ । लुम्बिनी प्रदेशको पनि पूर्वी भूभागमा उक्त प्रणालीको प्रभाव छ । बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

मनसुन पूर्वी र मध्य भूभागमा सक्रिय, दुई/तीन दिनमा देशभर
महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आउँदो २४ घण्टाका निम्ति चेतावनी तथा परामर्शमा उल्लेख छ, “कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा साथै बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोसी, वाग्मती, गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖