• Friday 23rd of October 2026

आज यी स्थानमा भारी वर्षा हुने


  • धनकुटा खबर
  • .

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको छ। कञ्चनपुरको दोधारामा पछिल्लो २४ घन्टामा ५७३ मिलिमिटर वर्षा भएको छ। यो नेपालमा मापन गर्न थालिएयताकै अति भारी वर्षा हो। यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै कञ्चनपुरकै हनमान नगरमा ५६०, सुन्दरपुरमा ४१६, कैलालीको गर्भ दरबारमा २०४.८, डडेलधुराको साहुखर्कमा २०२.२ मिलिमिटर वर्षा भएको छ।

बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖