काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको पर्दा घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातापाटीलाई बताए ।
घटनास्थल नजिकै करिब १० वर्षको बच्चाको ट्रयाकसुट पनि भेटिएको डीएसपी रिजालले बताए । घटनास्थलमा बसको खोजी गर्न ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी र सेनाका २८ जना गोताखोरले घटनास्थल भन्दा २ सय मिटर तलको क्षेत्रमा शुक्रवार दिनभर खोजी गरे । दिनभर खोजी गर्दा बस फेला नपरेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।
अध्यारोका कारण शुक्रवार खोजीकार्य स्थगित गरिएको छ । शनिबार बिहानै देखि पुनः खोजी कार्य सुरु गरिने डीआईजी केसीले बताए ।
