• Saturday 24th of October 2026

५ सय सुरक्षाकर्मीले १५ घण्टा खोजी गर्दा पनि नतिजा शून्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।

‘अहिलेसम्म नतिजा शून्य छ’ बागमती प्रदेशका डीआईजी विष्णु केसी भन्छन्– ‘घटनास्थलको दुई सय मिटरको दुरीलाई मुख्य केन्द्र बनाएर आज दिनभर खोजी गरेका थियौँ, खोजी भोलि बिहानैदेखि सुरु हुन्छ ।’

खोजी कार्यमा सेना र सशस्त्र प्रहरीका २८ जना गोताखोर परिचालन गरिएको छ । त्रिशुलको तीव्र बगेका कारण खोजीमा समस्या भएको डीआइजी केसीले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा ठुलो पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा लगेको खोजीमा संलग्न सुरक्षा अधिकृतहरू बताउँछन् ।

घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।

उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन् ।

नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖