कपिलेश्वर, असार २९ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार, फुर्केसल्लाकी ३० वर्षीया अम्बिका खतिवडा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी छिन ।
शुक्रबार स्वास्थ्य परिक्षण गरी घर फर्कन्छु भनी बुढिसेरा-छहरे- त्रिशुली बसमा चढेकी खतिवडा विदुर ३ स्थित बाङ्ङे दह नजिकै त्रिशुली नदीमा दिउँसो १२ बजे हेलिएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले निजको झोला भने फेला पारेका छन् । झोलामा ११ तोला सुन, २१ हजार नगद रुपैयाँ, स्थानीय पोलिक्लिनिकको कार्ड तथा लत्ताकपडा रहेको प्रहरीले जनाएको छ । बेलकोटमा जन्मिएकी अम्बिकाको गत मंसिरमा मात्रै भद्रुटार स्थित बसन्त खतिवडासंग बिबाह भएको थियो । बिबाह भएको केही दिनपछि नै रोजगारको शिलशिलामा बसन्त दुबईमा जानुभएको थियो । शुक्रवारको घटना पश्चात उहाँ दुबईबाट शनिबार बिहानै नेपाल आइसक्नुभएको छ ।
हराएकी अम्बिकाको खोजीको लागी घरपरिवार, जनप्रतिनिधि, माइती, प्रहरी सहितको आफन्तले शुक्रबार देखि नै प्रयास जारी राखेका छन् । तर, शनिबार अपरान्हसम्म अबस्था थाहा नभएको हो । घरपरिवार र आफन्तहरुले शनिबार धादिङको गजुरीसम्म पुगेर त्रिशूली नदी किनारको आसपास सहितको सम्भावित स्थानहरुमा खोजतलास गरेका थिए । प्रहरीले पनि तीन टोलि बनाएर खोजतलास जारी राखेको छ ।
