• Saturday 24th of October 2026

घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार


  • धनकुटा खबर
  • .

युद्धमा घाइते भएका एक सैनिकको करिब आठ महिनापछि ड्रोनबाट उद्धार भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार, युक्रेनको खार्किभ क्षेत्रमा घाइते अवस्थामा लामो समय देखि रहेका ४९ वर्षीय सैनिक कोस्तियान्तिन भ्लासेन्कोलाई अक्टोबर ४ मा उद्धार गरिएको हो।

उनलाई बोक्न ‘हेभी सट आयुदाग–६’ नामको ठूलो ड्रोन प्रयोग गरिएको थियो। छवटा पङ्खाको सहायताले उड्ने यो ड्रोन युक्रेनको गुर्जुफ डिफेन्स कम्पनीले भारी सामान ओसार्न बनाएको हो।
यसलाई टाढा बसेर सञ्चालकले नियन्त्रण गर्छन्।

युक्रेनी सञ्चारमाध्यम ‘ओबोरोन्का’ का अनुसार, सैनिक र कम्पनीका प्राविधिकहरूले त्यसमा मानिस अड्याउने पेटी र झुन्ड्याउने व्यवस्था मिलाएका थिए।

८ महिना देखि घाइते अवस्थामा रहेका ती सैनिकलाई युक्रेनले लामो समय देखि प्रयास गरेपनि उद्दार गर्न सकेको थिएन।

घाइते भ्लासेन्को लुकेको ठाउँसम्म पुग्ने बाटामा बारुदी सुरुङ थिए। रुसी ड्रोनले निरन्तर निगरानी गरिरहेका थिए। त्यहाँ मानिस वा गाडी पठाउँदा आक्रमणमा पर्ने जोखिम भएकाले उनलाई जमिनबाट निकाल्न सकिएको थिएन।

उनको ठाउँमा खटिन हिँडेका सैनिकहरू पनि पहिले बाटोमै मारिएको भ्लासेन्कोले बताएका छन्।

युक्रेनी सेनाको ३०औं मेकानाइज्ड ब्रिगेडमा कार्यरत उनी सन् २०२५ देखि अग्रपंक्तिमा बसेर उनी रुससँग युद्द लड्दै थिए। यसै वर्षको फेब्रुअरीमा रुसी ड्रोनको आक्रमणमा उनका साथी मारिए। उनका दुवै खुट्टामा गम्भीर चोट लाग्यो।

घाइते भएपछि उनी ध्वस्त विद्यालय तताउने उपकरणमुनिको साँघुरो खाल्डोमा लुकेर बसेका थिए। त्यहाँ उनले करिब आठ महिना बिताए।
रोयटर्ससँगको कुराकानीमा उनले बायाँ खुट्टाको तल्लो भाग घाउ बिग्रिएर गुमाएको बताएका छन्। दायाँ खुट्टाको चोट पनि बिग्रिँदै गएपछि उनले उपाय निकाले। खुट्टाको तल्लो भाग चक्कुले आफैं काटे र रगत बग्न र घाउ बिग्रिन नदिने औषधि लगाए।

त्यस अवधिमा साथीहरूले उनलाई ड्रोनबाट खाना र औषधि पठाइरहे। रेडियोमार्फत सम्पर्क भइरहन्थ्यो। आफूलाई कसैले बिर्सिएको छैन भन्ने थाहा पाउँदा बाँच्ने हिम्मत आएको उनले युक्रेनको सार्वजनिक प्रसारक सुस्पिल्नेसँग बताएका छन्।

जमिनबाट निकाल्ने प्रयास सफल नभएपछि सैनिकहरूले उनलाई ड्रोनमै बोकेर ल्याउने तयारी गरे। कम्पनीका प्राविधिकहरूले सैनिकहरूसँग मिलेर ड्रोन परिमार्जन र परीक्षण गरेका थिए।

ओबोरोन्काका अनुसार, उद्धारको अघिल्लो दिन अर्को ड्रोनले उनलाई सुरक्षा पेटी र त्यसको प्रयोग सिकाउने भिडिओ भएको फोन पुर्‍यायो। भोलिपल्ट भ्लासेन्कोलाई लिन ठुलो ड्रोन पुग्यो। उनले आफूलाई ड्रोनको पेटीमा बाँधे। त्यसपछि ड्रोनले उनलाई उठाएर लग्यो।

उद्धारपछि उनलाई खार्किभको अस्पताल पुर्‍याइएको थियो। उद्धार हुँदासम्म उनी युद्द मैदानमा रहेको झण्डै १६ महिना पुगेको थियो। त्यसमध्ये करिब आठ महिना उनी घाइते अवस्थामानै त्यहाँ रहेका थिए।

ड्रोन निर्माताले यस्तो उद्धारलाई अरू उपायबाट घाइतेलाई निकाल्न नसक्दा अपनाउने अन्तिम विकल्प भनेका छन्। उडानका बेला ड्रोन खसेमा वा आक्रमणमा परेमा घाइतेको ज्यान जाने जोखिम हुन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖