चितवन । सिमलतालमा पहिरोमा बस परेर बगेको थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो । मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् ।
विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटो/भिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्ञात छ । हिजो गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ ।
रमितका वुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् । अहिलेसम्म पहिरोमा परेका तीन जनाका शव भेटिएको छ ।
