चितवन । त्रिशूली नदीमा बेपत्ता भएका यात्रुहरूको खोजी कार्यमा सोमबार बिहानसम्म १२ जना शव नारायणी नदीको किनारमा भेटिएको छ। चितवन प्रहरीले दिएको जानकारी अनुसार यी शवहरू भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा फेला परेको हो।
प्रहरीले अनुमान गरेको छ कि भेटिएका शवहरू सिमलतालमा पहिरोले त्रिशूली नदीमा खसाएका दुईवटा बसमा सवार यात्रुहरू हुनसक्छन्। अहिलेसम्म १२ शव भेटिएपनि सात जनाको मात्रै सनाखत भएको छ।
सनाखत भएका शवहरूको विवरण यस्तो छ:
रमितकुमार माझी, १९ वर्ष, सर्लाही, बरहथवा ३
विकाश परियार, २२ वर्ष, चितवन, माडी १
ऋषिपल साह, २८ वर्ष, भारत, सीतामणि बर्गिनिया
जयप्रकाश ठाकुर, ३० वर्ष, भारत, सीतामणि बेतिया
सजाद अन्सारी, ३० वर्ष, भारत, बिहार बेतिया
सुदीप विक, २३ वर्ष, चितवन, भरतपुर २२
राहुम मिया, १७ वर्ष, रौतहट, जमुनामाई ४
चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएअनुसार पाँच जनाको शवको सनाखत हुन बाँकी छ। ती शवहरू चार पुरुष र एक महिलाका छन्।
गण्डक ब्यारेजसम्मको नारायणी नदी किनारामा सिमलतालभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर दूरीसम्म यी शवहरू भेटिएका हुन्।
शनिबार राति काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसलाई भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले त्रिशूली नदीमा खसाएको थियो।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ निकालेको विवरण अनुसार दुवै बसमा कुल ६५ जना सवार थिए। प्रहरीले खोजी कार्य जारी राखेको छ र बेपत्ता भएकाहरूको शव पहिचान गर्ने प्रयास गरिरहेको छ।
