• Saturday 24th of October 2026

बेपत्ता व्यक्तिहरू खोज्न सिमलतालदेखि १३२ किलोमिटर टाढासम्म खटिएका छन् सशस्त्र प्रहरी


  • धनकुटा खबर
  • .

चितवनको सिमलतालमा खसेको पहिरोले बगाएको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बलले १३२ किलोमिटरसम्म सशस्त्र प्रहरी परिचालन गरेको छ।

गत शुक्रबार भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खसेर दुई वटा बस त्रिशुली नदीमा बेपत्ता बनाएको थियो। बेपत्ता व्यक्तिको खोजी गर्न म‌ंगलबार सशस्त्र प्रहरीका ३०१ जना सुरक्षा फौज घटनास्थलदेखि १३२ किलोमिटर टाढा गण्डक व्यारेजसम्म खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सिमलताल वरिपरिका ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज २ वटा मोटर बोट र ७ वटा राफ्ट बोटसहित परिचालन भएका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवार देखि गोलघाटसम्म परिचालन भएको छ।
सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएको डिएसपी थापाले बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को ईलाकामा परिचालित भएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज ईलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा ईलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा ईलाकामा परिचालित भएका छन्।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशुली नदीमा बेपत्ता भएको थियो। अहिलेसम्म १५ जनाको शव फेला परेको छ। जसमध्ये ९ जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको डिएसपी थापाले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖