• Wednesday 28th of October 2026

नयाँ गठबन्धन बनाउन मूख्य भूमिका खेलेका रमेश बडाललाई पुनः महान्यायाधिवक्ता बनाउने प्रधानमन्त्री ओलीको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं,२ साउन । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बडालको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ । बडालसहित एमाले निकट केही वरिष्ठ अधिवक्ताहरुले सो पदमा इच्छा राखेका थिए । तर, एमालेका पुराना नेता केशव बडालले रमेशकै नाममा जोड गरेपछि ओली पनि सहमत भएको स्रोतले जनाएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघिका महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए।

बडाल ओली प्रधानमन्त्री बन्ने नेपाली कांग्रेससँगको सत्ता गठबन्धन निर्माण गर्न लागिपरेको व्यक्ति हुन् । गत असार १७ गते मध्यराती उद्योगी रामेश्वर थापाको निवासमा भएको ७ बुँदे सहमति कार्यक्रममा बडालपनि उपस्थित थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖