• Monday 26th of October 2026

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि विषयमा सार्वजनिक रूपमा बोल्दैनन् । तर यसपटक भने उनी मुखर देखिएका छन् । अभिनेता हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय सीमा बाहिर गएर नेपाल भारत सम्बन्धबारे अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।

नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै हमालले फेसबुकमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम राख्न आग्रह गरेका छन्।
हमालले सोमबार आफ्नो फेसबुकमा यस्तो टिप्पणी गरेका हुन्।उनले अर्थमन्त्रीको टिप्पणीले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई प्रभावित पार्न सक्ने बताएका छन्।

‘अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ,’ हमालले लेखेका छन्, ‘यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहाससमेत गर्छ।’

हमालले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्व स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक भए पनि त्यसका लागि नेपालको राष्ट्रिय हित र स्वाभिमानमा सम्झौता गर्न नहुनेमा जोड दिएका छन्।

अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए।

अभिनेता हमालका बुवा कूटनीतिज्ञ थिए। उनका बुबा चुडाबहादुर हमालले परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा भारत, तत्कालीन सोभियत संघ र थाइल्यान्डको कूटनीतिक नियोगमा काम गरेका थिए। उनी पाकिस्तानका लागि राजदूत पनि भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖