काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्नुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको खतरा रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवात ‘अर्नब’ अति शक्तिशाली बन्न सक्ने सम्भावना छ । उक्त प्रणाली आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन थाल्ने मौसम विश्लेषणले देखाएको प्राधिकरणले जनाएको छ ।
पाँच प्रदेशमा बढी असर पर्ने अनुमान
प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी देखिन सक्छ । यी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम औँल्याइएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कात्तिक १२, १३ र १४ गते विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवातको प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार, उपजलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा भई नदीको जलसतह बढ्न सक्ने चेतावनीसमेत दिइएको छ ।
धानबाली भित्र्याउनदेखि यात्रा टार्नेसम्मका सुझाव
सम्भावित विपद्को क्षति कम गर्न प्राधिकरणले आठबुँदे पूर्वतयारीका सुझाव सार्वजनिक गरेको छ । किसानलाई धानबाली काट्ने र भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न आग्रह गरिएको छ ।
त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्यटकलाई जोखिमको अवधिभर सुरक्षित स्थानमा रहन भनिएको छ । सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
आवश्यक परे सवारी आवागमन बन्द गर्ने तथा त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सुझाव दिइएको छ । संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई सुसूचित गर्दै प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।
त्यसैगरी, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न, आधिकारिक निकायबाट जारी हुने मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनी पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
सहायताका लागि यी नम्बरमा सम्पर्क गर्न सकिने
प्राधिकरणले मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । विपद्का बेला सहयोग आवश्यक परे १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सम्बन्धित निकाय र सर्वसाधारणले समयमै पूर्वतयारी अपनाएमा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने प्राधिकरणको आग्रह छ ।
