उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको गुनासो चाँडै सम्बोधन हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताएका हुन् ।
‘निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भने ।
उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानूनअनुसार सुल्झाइने उनले बताए ।
‘डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस् । गैरकानूनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन,’ अर्थमन्त्री पौडेलले भने ।
