• Wednesday 28th of October 2026

हर्क साम्पाङका समर्थकले अस्पतालभित्रै पसेर पत्रकार धमलामाथि गरे कुटपिट


  • धनकुटा खबर
  • .

विराटनगर । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

धमलाले मोबाइल खोस्ने प्रयास समेत गरेको उल्लेख गर्दै भनेकी छन् ‘सार्वजनिक क्षेत्र अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठुलो धक्का दिएको छ ।’

‘म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ । यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ । अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो ।’ उनले लेखेकी छन् ।

धरानका मेयर साम्पाङले महिलाहरू पक्राउ परेपछि सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर भनेर लेखेका छन् । यस्तै उनले त्यसपछि पनि अर्को स्टाटस लेखेका छन् । उनले लेखेका छन्,‘दमन नगर विस्फोट होला । शान्ति सुरक्षा सबैको जिम्मेवारी हो । आ आफ्नो भूमिकामा इमानदार रहौँ । जय देश।’

केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी सञ्जीता धमलाले धरानका जनप्रतिनिधिहरुले घुस खाने गरेको भन्दै प्रश्न गरेकी थिइन् । उनले प्रश्न गरेपछि मेयर साम्पाङले धमलालाई कार्यालयमा बोलाएर पक्राउ गर्न निर्देश दिएका थिए ।

उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि लछार पछार भएको थियो । सञ्चारकर्मी भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।धमलालाई कारावाही नभएको भन्दै धरानका मेयर साम्पाङले कारवाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएका थिए ।धमलालाले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖