• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

अबका कुनैपनि चुनावमा अन्य पाटीसँग मिल्दैनौँ, माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्छ :अध्यक्ष प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले अनिबार यहाँ आयोजना गरेको छलफलमा उहाँले विगतमा काँग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउनुभयो । उहाँले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजयी हुने गरी अभियान थाल्ने बताउनुभयो । जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको जानकारी दिँदै उहाँले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभयो ।

समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरूले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेका बताउनुभयो । उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो भन्नुभयो ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन, सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖