काठमाडौ । सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासत कक्षमा छन्। एउटा कोठामा लामिछाने, अर्कोमा जोशी। एउटै फ्ल्याटका दुइटा कोठामा बसे पनि उनीहरूको देखभेट हुँदैन।
शनिबार बिहान पौने ३ बजे लामिछाने हिरासत कक्ष छिरेका थिए। प्रहरीले कुनै समस्या छ भनेर सोध्दा उनले केही नभएको र अरू थुनुवा सरह खाने-बस्ने जबाफ दिएको ती प्रहरी अधिकृतले बताए।
तर प्रहरीले उनलाई बढी सुविधा दिएको छ। हिरासत कक्षका अन्य कोठामा थुनुवाको भीड भए पनि लामिछाने र जोशी एक्लै बस्न पाएका छन्। साधारण थुनुवालाई भन्दा उनीहरूलाई खुकुलो र सजिलो छ।
लामिछाने र जोशी दुवै एउटै मुद्दामा पक्राउ परेका हुन्। दुवैमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर मासेको आरोप छ।
गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने थिए भने जोशी सञ्चालक थिए। दुवैले सहकारीको रकम अपचलन गरेको र उक्त अपचलनमा संगठित रूपले लागेको आरोप छ।
लामिछानेलाई सरकारले फसाउन खोजेको र राजनीतिक प्रतिशोध साँधेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यतिबेला आफ्नो सम्पूर्ण शक्ति पोखरामा केन्द्रित गरेको छ। पार्टीका उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालदेखि सांसद, नेता तथा कार्यकर्ता सडक आन्दोलनको आँधी ल्याएर सरकार ढाल्ने चेतावनी दिन थालेका छन्।
लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा ओर्लिएपछि सहकारी पीडित पनि सडकमा देखिएका छन्।
