• Tuesday 6th of October 2026

१६ देशका ३७ खेलाडी एनपिएल खेल्न आउँदै ,महँगा खेलाडीले कति लिन्छन् एउटै खेलको पारिश्रमिक?


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन्।

आगामी मंसिर १५ देखि सुरू हुने लिगमा सहभागी आठ टोलीले विभिन्न १६ देशका खेलाडी भित्र्याएका हुन्। अहिलेसम्म ८ टोलीमा ३७ जना विदेशी खेलाडी भित्रिएका छन्। टोलीहरूले केही विदेशी खेलाडीको अन्तिम टुंगो लगाउन बाँकी छ।

जसमा इंग्ल्यान्डबाट सर्वाधिक ८ खेलाडी छन्। यस्तै अमेरिकाबाट ४ खेलाडीले एनपिएल खेल्नेछन्। वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३-३ खेलाडीलाई टोलीहरूले आबद्ध गरेका छन्। २-२ खेलाडी भित्रिने देशमा अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबिया छन्। छिमेकी भारतसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङ गरी ७ देशका १-१ खेलाडीले एनपिएल खेल्नेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एनपिएलमा टेस्ट राष्ट्रबाट खेलिरहेका खेलाडीलाई भित्र्याउन भने कडाइ गरेको छ। अहिले सक्रिय खेल खेलिरहेका खेलाडी मध्ये चार जनालाई मात्र एनपिएलमा आबद्ध गराउन आइसिसीले क्यानलाई भनेको छ।

दुई वर्षअघि क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिँदै नेपाल टी-२० लिग गरेको थियो। तर सो लिग विवादित बन्नुका साथै फिक्सिङमा समेत मुछिएको थियो। त्यसकै असर अहिलेको एनपिएललाई परेको क्यानका सचिव पारस खड्काको भनाइ छ।
लिगमा एक टोलीले चार जना खेलाडी प्लेइङ-११ मा राख्न पाउने प्रावधान छ। यस्तै टोलीहरूले न्यूनतम ४ जना र अधिकतम ६ जनासम्म विदेशी खेलाडीसँग सम्झौता गर्न पाउनेछन्।

टोलीहरूले विदेशी खेलाडी भित्र्याए पनि अधिकांस खेलाडीको सम्झौता रकम भने खुलाएका छैनन्। सेतोपाटीलाई प्राप्त सूचनाअनुसार भारतका शिखर धवनले एकै खेलको ३० हजार अमेरिकी डलर (४० लाख रुपैयाँ बढी) लिने गरी कर्णाली याक्ससँग न्यूनतम चार खेलका लागि सम्झौता गरेका छन्।

लिगका लागि अस्ट्रेलियाका बेन कटिङ (लुम्बिनी लायन्स), न्युजिल्यान्डका मार्टिन गप्टिल (विराटनगर किंग्स), न्युजिल्यान्डकै जिमी निशम (जनकपुर बोल्ट्स) जस्ता चर्चित खेलाडी पनि आउँदैछन्। यी खेलाडीको भने सम्झौता रकम सार्वजनिक गरिएको छैन।

विदेशी खेलाडीले मोटो रकम लिएर लिग खेल्ने भएकाले सबै खेलाडीले श्रम स्वीकृति लिनु पर्नेछ। श्रम स्वीकृतिका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गर्दै हेल्प डेक्स स्थापना गरेको छ। लिग सुरू हुनुअघि परिषदमार्फत् श्रम स्वीकृतिको काम पूरा गर्ने क्यानका सचिव पारस खड्काको भनाइ छ।

लिगमा नेपालका आठ जना मार्की खेलाडीले २० लाख रूपैयाँ पाउँदैछन्। यस्तै ए क्याटागोरीका खेलाडीले अधिकतम १५ लाख रूपैयाँसम्म पाउनेछन्। अक्सनबाट टिममा आबद्ध भएका ८० नेपाली खेलाडीले न्यूनतम २ लाखदेखि अधिकतम १५ लाखसम्म पाउनेछन्। मार्की ८, अक्सनबाट भित्रिएका ८० र स्थानीय खेलाडी ८ गरी एनपिएलमा नेपालबाट कम्तिमा पनि ९६ खेलाडीको सहभागिता हुनेछ।

विदेशी खेलाडीको सूची
विराटनगर किंग्स – अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)
जनकपुर बोल्ट्स – जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका)
चितवन राइनोज – रवी बोपारा (इंग्ल्यान्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)
काठमाडौं गुर्खाज – नाथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)
पोखरा एभेन्जर्स – आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड)

लुम्बिनी लायन्स – बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)
कर्णाली याक्स – शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज)
सुदूरपश्चिम रोयल्स – ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)
-सिताराम कोइराला/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖