काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २३ र २४ गते गृह जिल्ला झापा भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओली भ्रमणको क्रममा मानव सेवा आश्रमको कार्यक्रममा सहभागी हुनुको साथै दमक बिजनेस टावरको उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुने हुने कार्यसूची बनेको छ ।
नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणको कार्यतालिका बनाउन सोमबार नेकपा एमाले झापाको बैठक बसेको थियो । बैठकले दुई दिनको कार्यतालिका बनाएको नेकपा एमाले केन्द्रीय सदस्य एवं झापा जिल्ला इञ्चार्ज रोमनाथ ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार मंसिर २३ गते प्रधानमन्त्रीले सबैभन्दा पहिला मेची नगरमा रहेको मानव सेवा आश्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम बढीमा एक घण्टाको हुने उहाँले जानकारी दिनुभयो ।
मानव सेवा आश्रमको कार्यक्रम सकेर दिउँसो दमक बिजनेस टावर उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । सोही कार्यक्रममा सभा समेत आयोजना गर्न लागिएको ओलीले जानकारी दिनुभयो ।
सभालाई व्यवस्थित र मर्यादित बनाउन बैठकले नेताहरूको कार्य विभाजन गरेको छ । सभामा सहभागिताको लागि प्रचारप्रसार र व्यवस्थापनको काम भोलिबाटै सुरु हुने ओलीले बताउनुभयो ।
सो कार्यक्रम सकेर समय पुगेमा नगरपालिकाले निर्माण गर्न लागेको सुन चाँदी टावरको पनि प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम छ । सो टावर शिलान्यास गरिदिनु पर्ने माग नगरपालिकाबाट आएको भए पनि तालिकामा राख्न बाँकी रहेको ओलीले जानकारी दिनुभयो ।
त्यस्तै मंसिर २४ गते बिहान ११ बजे प्रधानमन्त्रीले महारानीझोडामा आदिवासी तजपुरीया समाजको जग्गाधनी पुर्जा वितरण कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
सो कार्यक्रम पछि बेलडाँगी खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम राखिएको उहाँले बताउनुभयो । २४ गते खानेपानी आयोजना उद्घाटन कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली सोही दिन अपराह्न चार बजेपछि काठमाडौं फर्कने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई व्यवस्थित गर्न सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय जिल्ला कमिटी बैठकले गरेको छ । कार्य विभाजन अनुसार नेताहरू काममा खटिनु हुने भएको छ ।
