दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-८ बिजौरीका ३१ वर्षीय किशन शाही छन्। उनी सवार रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई बिजौरीमा रा १क १४१८ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो।
ठक्कर दिने स्कुल बस लालमटियास्थित गोरखा माविको हो। स्कुल बसको ठक्करबाट शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
मृतक शाही भारतीय सेनामा कार्यरत थिए। उनी केही दिनअघि मात्रै घर बिदामा आएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट शाहीको मृत्यु भएपछि आक्रोशित स्थानीयले मंगलबार राति पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका थिए।
मृतकका दुई सन्तान निःशुल्क पढाइदिने र श्रीमतिलाई स्कुलमा रोजगारी दिने सहमति पछि राति साढे १० बजे पछि राजमार्ग सूचारु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त बस टिउसन पढ्ने बिद्यार्थी छोडेर पूर्वतर्फ जाँदै थियो। तीब्र गतिमा रहेको बसले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन्।
सोमबार बेलुका मात्रै राप्ती गाउँपालिका –२ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पश्चिमतर्फ आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका – ३ बसन्तपुरका १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको थियो।
