• Saturday 17th of October 2026

बुबा र भाइको हत्यापछि फरार रहेका जेठा छोरा मिलनले गरे आत्मसमर्पण, हत्या गरेको स्वीकारेको प्रहरीको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । सोमबार बिहान भक्तपुरको बालकोटमा मृत फेला परेका कूलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको आफ्नै जेठा छोरा मिलनले नै हत्या गरेको खुलेको छ ।

सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा बाबु छोराको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । दुई जनजाको हत्यापछि फरार रहेका मिलनले मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले नै बाबु र भाईको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सोमबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाल कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुका अनुसार आचार्य बाबु छोराको हत्या शनिबार राती भएको देखिएको छ । शनिबार बिहान ३ बजे आसपासमा उनीहरुके हत्या भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले फरार रहेका उनकै छोरा मिलनको संलग्नता रहेको हुनसक्ने आशंका गरेको थियो ।

मिलन शनिबार राति तीन बजेपछि खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट गएको सीसीटीभी फुटेजबाट खुलेको प्रहरी स्रोतले बताएको छ। आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा खुलेको तर, त्यसपछि उनी कहाँ गए भन्नेबारे पत्ता नलागेको स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार मृतक दुवै जनालाई घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ । मृतकको कान र टाउकोमा चोट देखिएको छ । रगतसमेत जमिसकेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । आचार्य बाबुछोराको हत्या भएको घरमा जेठा छोरा मिलन र कान्छा प्रवीण पढ्नका लागि त्यहाँ २ वटा कोठा भाडामा लिएर बसेका थिए। मिलन लोकसेवाको तयारी गरिरहेका र कान्छा प्रवीण विज्ञान संकायमा स्नातक पढिरहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖