‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्याउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिनँ तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ लेख्दै भिडियो पोष्ट गरेका मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक धर्म खत्रीले अन्ततः उनले भने जस्तै गरि मृत्युवरण गर्न पुगे ।
कसैलाई लक्षित गर्दै उनले बनाएको टिकटक, उसले हेर्यो वा हेरेन थाहा भएन, तर भगवान्ले भने पक्कै सुनेछन् । अफसोच खत्रीले उक्त भिडियोमा भने जस्तै गरी उनले संसार छाड्न पुगे, त्यो पनि उनले मागेकै दुर्घटनाकै कारणबाट ।
दुईदिनअघि सामाजिक सञ्जाल टिकटकमा मोटरसाइकलमा चढेको भिडियो राख्दै उनले उक्त भिडियो सार्वजनिक गरेका थिए । खत्रीले चलाएको सुपप्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकलाई सुपप्र ०१–२–९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुर्याइए पनि यस संसार छाडिसकेको चिकित्सकले जनाए ।
उक्त दुर्घटनामा उनको पछाडि मोटरसाइकलमा बस्ने डोटी शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्री भने टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
संयोग भन्ने कि भन्ने, उनले सामाजिक सञ्जालमा भिडियो राखेको २ दिनमै यस्तो घटना घट्न पुगेको छ । उनले टिकटक बनाउँदा के सोचेर बनाएका थिए, अब त्यो कहिल्यै खुल्ने भएन ।
