• Friday 16th of October 2026

इटहरी उपमहानगरपालिका अगाडिको शंकास्पद वस्तु सेनाले पार्‍यो निष्क्रिय


  • धनकुटा खबर
  • .

इटहरी उपमहानगर कार्यालयअगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको बम मंगलबार नेपाली सेनाले निष्क्रिय तुल्याएको हो।

अन्य दुई ठाउँमा पनि त्यस्तै वस्तु रहेको सूचना पाएको पनि ती ठाउँमा केही फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले दिएको जानकारी अनुसार अहिले इटहरीको अवस्था सामान्य छ।

एसपी तिम्सिनाका अनुसार मंगलबार बिहानै प्रहरीलाई एनसेलको एउटा नम्बरबाट बम राखेको सूचना आएको थियो।

‘हामी राजावादी समूह हौं। हाम्रो सशस्त्र संघर्ष सुरू भैसक्यो। इटहरी उपमहानगर अगाडि, बुढीखोला र धरानको भोटेपुलमा बम राखेका छौं, मानवीय क्षति नहोस भन्नेमा सजग छौं भनेर म्यासेज आयो,’ तिम्सिनाले भने, ‘लगत्तै हामीले फलो गर्यौं।’

उनका अनुसार इटहरी उपमहानगरअगाडि प्रेसर कुकरमा तार बेरेको ‘होक्स’ ( झुक्याउने सामग्री) फेला परेको थियो।
‘त्यसलाई निष्क्रिय पारिसकिएको छ। अरू दुई ठाउँमा केही फेला परेन,’ उनले भने।

बम रहेको हल्लापछि पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्धसमेत बनेको थियो। अहिले यातायात सञ्चालन भइसकेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖